१५ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : ओली

प्रकाशित मिति :  13 August, 2023 3:57 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि बताएका छन् ।

उनले भने, “प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफठ्याराे हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ?आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अफठ्याराे लाग्नुपर्ने होइन ?”

ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस !