१५ आश्विन २०८१, मंगलबार

बर्खामा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडौँ महानगरको तयारी

प्रकाशित मिति :  13 August, 2023 4:28 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने तयारी गरेको छ। अनुगमन समितिको आइतबार बसेको बैठकमा खुल्लारूपमा बेचिने चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई बिक्री प्रतिबन्धको तयारी गरिएको हो ।

खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरू मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए ।

 साथै कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !