१५ आश्विन २०८१, मंगलबार

हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

प्रकाशित मिति :  13 August, 2023 5:47 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा नभई काम गर्नुपर्ने बेला आएको बताएकी छन् । मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न पनि उनले निर्देशन दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९\०८० को बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बाेधन गर्दै यस्तो निर्देशन दिएकी हुन् ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् ।

आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेश गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘मेरो कार्य सम्पादन भनेकै तपाईँहरूका क्षेत्र, संस्थान र निकायहरूबाट हुने हो, त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र, संस्थान र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेश गर्न आग्रह गर्दछु ।’

गत आर्थिक वर्षमा मन्त्रालायको पूँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति प्रश्न गर्दै मन्त्री शर्माले आफैंले बनाएका योजनाहरू किन कार्यान्वयन हुँदैनन् ? भनेर प्रश्न गरिन् । ‘हामी जिम्मेवारीमा बसेका मान्छेहरूको पञ्छिने बानी छ, यो राम्रो होइन । हरेक निकाय र जिम्मेवारी अधिकारीहरूले आत्मसमीक्षा गरेर प्रगतिको मूल्यांकन गर्नुपर्छ’। मन्त्री शर्माले भनिन्, ‘अरू कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइदैन । हामीले सबैले को-कसको कति कमजोरी हो खोजी गरौं तर चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छूट हामी कसैलाई छैन ।’

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अनिता शाह ढुंगानाले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिंदै सूचना प्रविधिलाई एप्लिकेशनभन्दा इकोसिष्टमको रूपमा विकास गर्ने गरी कार्यक्रम बनाउन मन्त्रालयलाई आग्रह गरिन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पूँजीगत खर्च बढाउन संस्थागत क्षमता विकासमा जोड दिए । पूँजीगत खर्च बढेसँगै सेवा प्रवाहले पनि गति लिने भएकाले विगतको अवस्थाबाट पाठ सिक्दै चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !