१५ आश्विन २०८१, मंगलबार

लगातारको वर्षाले उत्तरी-पूर्वी रोल्पाका गाम,सेरम,उवामा टेलिफोन अवरुद्ध

प्रकाशित मिति :  13 August, 2023 6:52 pm


फाइल फोटो

रोल्पा । तीन दिनदेखिको लगातार वर्षाका कारण उत्तरी-पूर्वी रोल्पाका गाम,सेरम,उवामा टेलिफोन अवरुद्ध भएको छ ।

सुनछहरी गाउँपालिका १ सेरम २ नं. वडा भित्रीगाम ३ नं. वडा बाहिरीगाम र थबाङ गाउँपालिका ४ र ५ नं. वडा उवामा टेलिफोन अवरुद्ध भएको हो ।

शुक्रबारदेखि लगातार परेको वर्षाको कारण टेलिफोन सेवा अवरुद्ध बनेको सुनछहरी गाउँपालिका ३ बाहिरीगामका वडा अध्यक्ष उडवीर घर्तिमगरले जानकारी दिए ।

सोलारबाट सञ्चालन भइरहेको सुनछहरी गाउँपालिका-१ सेरमको दहबाङ स्थित नेपाल टेलिकमको टावरले काम नगर्दा थबाङ गाउँपालिकाको उवा र सुनछहरी गाउँपालिकाको सेरम भित्रीगाम बाहिरीगामलगायतका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए ।

थबाङ गाउँपालिका ४ नं वडा अध्यक्ष हिकमत घर्तिमगरले निरन्तर वर्षाको समयमा टेलिफोनले काम नगर्दा गाउँ गाउँमा खबर आदानप्रदान गर्न समस्या भइरहेको बताए ।

टेलिफोनको टावरमा समस्याबारे धेरै पहिले नै अवगत गराउदा पनि नेपाल टेलिकम कार्यालय नेपालगंजले बेवास्ता गरेको सुनछहरी गाउँपालिका ३ नं वडा बाहिरीगामका वडा अध्यक्ष उडवीर घर्तिमगरको गुनासो छ ।

सेरमको दहबाङमा रहेको टेलिफोन टावरबाट गामको गोङबाङमा रहेको टेलिफोन टावर र थबाङ गाउँपालिका ४ थर्पुमा रहेको टेलिफोन टावरमा लिङ्क गरिएको र सेरमको टावरमा समस्या आएपछि अन्य दुबै टावरले काम नगर्ने नेपाल टेलिकम तुलसिपुर दाङका इन्जिनियर दिपक खनालले जानकारी दिए ।

सेरममा रहेको टावरमा थप ब्याट्री व्यवस्था गरेर वर्षाको समयमा पनि नियमित फोन सेवा सुचारु गर्ने इन्जिनियर खनालको भनाई रहेको पत्रकार जुनिस कुमार विष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !