१५ आश्विन २०८१, मंगलबार

संसद बैठकलाई ‘हाइज्याक’ गरिएको रास्वपा सभापति लामिछानेको आरोप

प्रकाशित मिति :  14 August, 2023 5:46 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरेको टिप्पणी गरेका छन् ।

संसद बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरेको आरोप लगाएका हुन् ।

संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको टिप्पणी गरे ।

सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उनले कसका लागि र किन त्यस्तो गरिएको हो भनेर प्रश्न गरे । उनले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताए ।

उनले भने,“यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने,आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो ।”

सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्वपूर्ण तयारी साथ आएको भएपनि बोल्न नपाएको बताए ।

उनले योजनावद्ध रुपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरु प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताए । उनले सशक्त जनमत लिएर आएका नयाँ पार्टीहरूको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !