१५ आश्विन २०८१, मंगलबार

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैनः ओली

प्रकाशित मिति :  16 August, 2023 7:28 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् ।

दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई छ ।

नेपाल–भारतमैत्री समाजले काठमाडौंमा आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे ।

उनले भने,“ प्रकृतिले दिएका मित्रहरू, इतिहासले बनाएका मित्रहरू र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बिचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरैतिनो घचपच भएपनि यस सम्बन्धलाई स्थायी रुपमा सधैंका लागि कसैले पनि बिगार्न सक्दैन । किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो इतिहासले बनाएको सम्बन्ध हो ।”

अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोराए । उनले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरू भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !