१५ आश्विन २०८१, मंगलबार

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण

प्रकाशित मिति :  17 August, 2023 2:18 pm


काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो ।

प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए ।

उनले विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए ।

उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौँ, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए ।

उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैँभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए । उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए ।

उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा प्रभावित छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस !