१५ आश्विन २०८१, मंगलबार

विकृति र बेथिति अन्त्यको नेतृत्व अब माओवादीले लिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  17 August, 2023 5:28 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन्।

बिहीबार (आज) नेकपा (माओवादी केन्द्र) रामेछाप, दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने घर-घरमा माओवादी, जन-जनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो।

‘अहिले देशमा धेरै बेथिति छन्। तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ। यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए।

‘हिजो बन्दुक बोकेर एकात्मक, निरंकुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सक्यौं। तर, जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जीवनमा परिर्वतन ल्याउन अझ संघर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं। जनतासँग माओवादी विशेष अभियान संचालन गर्ने भनेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रूपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी फेरिन चाहन्छौं जनतासँग जोडिएर, जनताको घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रूपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान संचालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ,’ ।

‘जनयुद्ध’को नेतृत्वकर्ताको हैसियतले त्यति बेलाको संघर्षमा घाइते, अपांगता र सहिद र बेपत्तालाई सम्मान गर्ने गरेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय सहिद घोषणा गरेको उनले बताए।

साथै, जनयुद्धलाई अमर बनाउने फागुन १ गते (जनयुद्ध दिवस) लाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताए। परिपूरण गर्ने ऐन ल्याएर सहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिने गृहकार्यमा सरकार रहेको उनले बताए।

प्रधानमन्त्रीले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्। उनले सरकारको अहिले ध्यान ुगेम चेन्जरु आयोजनामा गएको बताए। ‘सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठूला आयोजनालाई देशको विकासलाई नयाँ युगतर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रूपमा परिवर्तन गर्छौं,’ उनले भने।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममार्फत् ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिएको उनले बताए। यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !