१५ आश्विन २०८१, मंगलबार

भ्रष्टहरूको धम्कीबाट सरकार डराउँदैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  18 August, 2023 12:05 pm


गोरखा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

अजिरकोट गाउँपालिका वडा नम्बर २ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’ को आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरू सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन’ उनले भने ।

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उपप्रधानमन्त्री श्रेष्ठले खुशी व्यक्त गरे ।

राजनीतिक परिवर्तनलाई सामाजिकआर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !