१५ आश्विन २०८१, मंगलबार

विद्युत् प्राधिकरणको गत वर्षको नाफा १२ अर्ब ३३ करोड

प्रकाशित मिति :  18 August, 2023 2:15 pm


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यस्तै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ ।

प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्दै प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२\०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३\०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताए । उनले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिए ।

उनले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताए । प्रबन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताए । उनले प्रशासन तथा वितरण चुहावट १३।४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताए ।

उनले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको जानकारी दिए । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !