१५ आश्विन २०८१, मंगलबार

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी

प्रकाशित मिति :  18 August, 2023 3:18 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने बताए ।

मन्त्री भण्डारीले सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पुर्याउन लागेको बताए । उनले वैदेशिक रोजगारबाट नै मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने अवस्था अहिले पनि कायम रहेको बताए ।

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिक स्तरमा संकलन गरिएको ६ हजार १५९ नागरिकहरुको हस्ताक्षर र ज्ञापन पत्र मन्त्री भण्डारीलाई बुझाएको हो ।

नागरिक समाज अभियानले तयार पारेको वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि १८ वटा शिर्षकहरुको २८ पेजको प्रस्ताव समेत मन्त्रीलाई बुझाइएको छ ।

उनीहरूले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानूनी व्यवस्था गर्न, वैदेशिक रोजगारमा कामदार पठाउँदा शून्य लागत, भर्ना खर्च रोजगारदाताले व्यहोर्नेको नीति लागू गर्न, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोक्न, व्यवसायीको अनुगमन प्रभावकारी बनाउन, वैदेशिक रोजगारमा महिलामाथिको भेदभाव हटाउँदै खाडी मुलुकहरुमा रेलु महिला कामदार उपरको प्रतिबन्ध हटाउन लगायतका १० वटा माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस !