१५ आश्विन २०८१, मंगलबार

उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

प्रकाशित मिति :  18 August, 2023 3:40 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुने बताए ।

गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताए । बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने उनकाे भनाइ छ ।

‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन,’ उनले भने, ‘यो कार्यान्वयन नै गर्ने हाे। त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’

सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रूपमा हेर्न नहुने उनले बताए ।उनले भने, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याइँले गर्दा भएको हो रे । त्यति ठूलो पहेँलो हात्ती गेटबाट छिर्दाख साधारण हेलचेक्र्याइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दै थिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’




प्रतिक्रिया दिनुहोस !