१५ आश्विन २०८१, मंगलबार

सरकारले बढाएको न्युनतम पारिश्रमिक दिन सक्दैनौंः परिसंघ

प्रकाशित मिति :  19 August, 2023 10:09 am


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले हालै वृद्धि गरेको पारिश्रमिक उपलब्ध गराउन नसकिने जनाएको छ । 

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोप्रति ध्यानाकर्षण भएको तर अर्थतन्त्र मन्दीमा भएको बेला बढेको पारिश्रमिक दिन नसक्ने प्रतिक्रिया दिएको हो।

अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो रहेको अवस्थाबाट उद्योगहरु गुज्रिरहेको बेला पारिश्रमिक वृद्धिको निर्णयले उद्यमशीलतामा समस्या पर्ने ठहर परिसंघको छ। 

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने भएकाले पारिश्रमिक वृद्धिले उद्योग क्षेत्रमा नकारात्मक असर गर्ने जनाएको छ ।

“उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ, उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन्,” परिसंघले भनेको छ, “श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ।”

विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !