१६ आश्विन २०८१, बुधबार

आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट

प्रकाशित मिति :  21 August, 2023 12:32 pm


काठमाडौँ । वीर अस्पतालले निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।

वीर अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन लागिपरेको बताए । उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको जानकारी दिए ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने विषयलाई लिएर समितिले तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको उनको भनाइ छ ।

डा।पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारण सेवा सुरु गर्न नसकेको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको प्रस्ट पारे ।

आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई\तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको जनाउँदै उनले आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको पनि जनाए । जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको उनको भनाइ छ । उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी पहल थालेको पनि बताए ।

डा।पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यतालाई बिस्तारै हटाउँदैछौँ । हाम्रो क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी अघि बढेको जनाउँदै उनले अझै पूर्ण रुपमा त्यो चरणमा पुग्न बाँकी रहेको छ ।’

‘अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ तर, यो वर्ष वर्न सेन्टर सञ्चालनका लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार, मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ,’ डा। पौडेलले भने, ‘त्यसको लागि अहिले योजनामा छौँ ।’

उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको पनि बताए । ओपीडी भएको स्थानमा काउन्टर स्थापना गरिएको र ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

डा। पौडेलले भने, ‘यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।’

वीरमा बन्द अवस्थामा रहेको ७० शय्या नर्सिङ जनशक्ति थप भएपछि सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ ।

निर्देशक डा।पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौती सिर्जना भएको बताए । गरिव तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको पनि उनले बताए ।

आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँमात्रै दिएको डा। पौडेलको भनाइ छ । उनका अनुसार आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने उनले बताए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोधभर्ना हुने आश्वासन पाएको बताए ।

अस्पतालले आधारभुत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !