१६ आश्विन २०८१, बुधबार

ललिता निवास प्रकरण बारे पूर्व प्रधानमन्त्री बाबुराम र माधवसँग सिआईबीले लियो बयान

प्रकाशित मिति :  21 August, 2023 12:43 pm


काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रिय अनुसन्धान व्यरो (सिआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ ।

अनुसन्धानको प्रतिवेदन बुझाउनै लाग्दा आइतबार बेलुका भट्टराई र नेपालकै निवासमा पुगेर सिआईबीले बयान लिएको स्रोतले जनाएको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार टोखास्थित निवासमै बोलाएर डा. भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका छन्।

त्यस्तै पूर्व प्रधानमन्त्री नेपालसँग उनको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले हिजो (आइतबार) नै बयान लिएको हो।

यसअघि साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले दुवै पूर्वप्रधानमन्त्रीहरुसँग बयान नलिने गरी यो मुद्दा अघि बढाउने सहमति गरेको थियो।

तर, चौतर्फी दबाबपछि सीआईबीले आइतबार दुवै पूर्वप्रधानमन्त्रीसँग बयान लिएको हो। सीआईबीले ललिता निवासको फाइल आइताबार नै जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको थियो।



प्रतिक्रिया दिनुहोस !