१६ आश्विन २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसी विरुद्ध विरोधका कार्यक्रम घोषणा

प्रकाशित मिति :  22 August, 2023 5:04 pm


काठमाडौँ । विप्लव नेतृत्वको नेकपा अमेरिकी परियोजना एमसीसीविरुद्ध आक्रमक देखिएको छ ।

नेकपाले अमेरिकी परियोजना एमसीसी र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा एमसीसी विरुद्ध घोषणा गरिएको उल्लेख छ । नेकपाले भदौ ६ गते देशव्यापी वालिङ,७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन,९ गते गाउँगाउँमा जागरण प्रचार गर्ने कार्यक्रम राखेको छ ।

त्यस्तै १०गते देशव्यापी जनप्रदर्शन,११गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२ बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता नगरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा ‘यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौं भन्ने हाम्रो धारणा छ । हामी जो जहाँ छौं त्यहीबाट यो राष्ट्रघाति सम्झौताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं ।”



प्रतिक्रिया दिनुहोस !