११ कार्तिक २०८१, आइतबार

देशभर ४७ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण, स्थानीय तहमा थप स्वास्थ्यकर्मीको टोली जाने

प्रकाशित मिति :  24 April, 2020 5:01 pm


काठमाण्डौं, १२ वैशाख ।

देशभर कोरोना परीक्षण गर्नेको संख्या ४७ हजार ४ सय ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर विधिबाट ९ हजार ४ सय ७ सय र आरडीटी विधिबाट ३८ हजार ८९ जनाको परीक्षण भएको जनाएको छ ।

अहिलेसम्म परीक्षण भएका मध्य ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्य १० जना उपचारपछि फर्किसकेका छन् भने ३८ जनाको उपचार भईरहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रादेशिक तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै र ५ नम्बर प्रदेशमा सबैभन्दा थोरै परीक्षण भएको छ ।

अहिलेसम्मको तथ्याङ्क अनुसार प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३,गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ८ सय ७४ जनाको नमुना परीक्षण भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ४ हजार ८ सय ७०, सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा छुट्टै टोली

सरकारले कोरोना संक्रमण रोकथामका लागि थप स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एउटा गाँउपालिकामा १, नगरपालिकामा २,उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ५ जनाको टोली खटाउने निर्णय गरेको हो ।

टोलीमा जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स गरि ३ जनाको समूह हुने छ । खटिएको टोलीले कोरोना ‘टे«सिङ’ र ‘टेस्टिङ’ गर्न र अन्य कोभिड —१९ को संक्रमण रोकथाम र नियन्त्रणमा सहजिकरण गर्ने मन्त्रालयका प्रवक्ता देवकोटाको भनाई  छ ।

प्रवक्ता देवकोटाले भने,‘ यो समूह बनाउँदा बनाउँदा हामीले स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मी प्राथमिकता राखेर उहाँहरुलाई परिचालन गर्ने नपुगे मात्र जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक कार्यालय, प्रादेशिक स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माग गर्नेगरि व्यवस्था गर्नुहुन आग्रह गर्दछौं ।’

संक्रमित भोजपुरका युवा साउदीबाट आएका थिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना संक्रमणको पुष्टि भएका २६ बर्षीय पुरुष साउदी अबरबाट आएको जानकारी गराएको छ ।

प्रवक्ता देवकोटाले उनी फागुन ३० मा हिमालयन एअरलाईन्सबाट आएको र केही समय उदयपुरमा केही समय बसेर भोजपुर गएको जानकारी दिए ।

उनलाई थप उपचारका लागि विराटनगर ल्याउँदै गरेको डा. देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !