१६ आश्विन २०८१, बुधबार

धुलिखेल अस्पतालका लागि ३.२९ अर्ब जापानी येन अनुदान स्वीकार

प्रकाशित मिति :  23 August, 2023 2:04 pm


काठमाडौँ । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

मन्त्रिपरिषद्ले गायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि पनि प्रदान गरेको छ ।

यस्तै, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्काषन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताइन् ।

त्यस्तै बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !