१६ आश्विन २०८१, बुधबार

सरकारको सुशासन आफ्ना मान्छे परेपछि सुस्तायोः सभापति लामिछाने

प्रकाशित मिति :  23 August, 2023 6:36 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरू नपरुन्जेलमात्रै सिमित रहेको बताए । आफ्ना मान्छेहरू पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको उनको आरोप थियो । उनले सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै सरकार सुस्ताएको बताए ।

‘शंकको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्नो ढोकासम्म त्यो आरोप नआइपुग्दासम्मको सुशासनको कुरा हो की साँच्चिकै सुशासनको कुरा हो ? भूटानी शरणार्थी प्रकरणमा जतिपनि प्रहरी अधिकारी काम गरिरहेका थिए, तिनको सरुवा भयो । यो सुशासनको यो प्रमाण पर्याप्त छैन र सरकारमाथि शंका गर्न ?’ उनले भने, ‘ललितानिवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज पत्र सबै हेरेका, पैसा दिएर किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातेर थुनिए, निर्णयकर्तालाई सुनपानी छर्किएजसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र ? ’

सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दावा लामाको फोन रेकर्ड संसदीय समिति र संसदले हेर्न पाउनुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !