१६ आश्विन २०८१, बुधबार

उपभोक्ताले प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छः महासचिव गजुरेल

प्रकाशित मिति :  25 August, 2023 1:16 pm


काठमाडौँ । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरूले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् ।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन् । उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरूले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताए ।

गजुरेलले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरूको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे ।

“हामी कहाँ नभएको चिजहरू, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ । यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौति गरेर यो राष्ट्रिय हीतका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो ।”,उनले भने ।

उनले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए । उनले कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरूले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे ।

गजुरेलले बजारमा कृषिजन्य वस्तुहरूकाे मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !