१६ आश्विन २०८१, बुधबार

कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छः सांसद न्यौपाने

प्रकाशित मिति :  27 August, 2023 2:21 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताइन्। उनले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताइन् ।

उनले भनिन्, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद् छ । आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्नेगरी गतिविधिहरु भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ ।’

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !