१६ आश्विन २०८१, बुधबार

झलनाथ खनालको टिप्पणी -देशको राष्ट्रियता खतरामा छ

प्रकाशित मिति :  27 August, 2023 5:13 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा खनालले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए । उनले अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण पनि देशको राष्ट्रियता खतरामा रहेको दाबी गरे ।

एमसीसी अमेरिकाले खडा गरेको इन्डोप्यासिफिक स्टाटेजी भएको खनालको भनाइ छ । ‘एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डोप्यासिफिक स्टाटेजी हो । त्यसको अभिन्न अंग हो । त्यो अभिन्न अंगको रूपमा उसले हर प्रकारले लाद्न कोशिस गर्दैछ । अब अहिले पनि त्यसलाई कार्यान्वयन गर्ने जोड अमेरिकाले दिइरहेको छ,’उनले भने ।

अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने उनको दाबी छ । अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको उनले बताए ।

५ सय मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने उनको भनाइ छ ।

‘सम्झौतामार्फत नेपालले पाउने जम्मा ५ सय मिलियन डलर हो । त्यो डलर प्राप्त गर्ने कुरामा कुनै आपत्ति छैन, अमेरिकाले नेपाललाई अनुदान दिन चाहन्छ भने ५५ करोड किन ५५ अर्ब दिए पनि हुन्छ । तर सर्तहरू जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा सर्त पनि मान्य हुँदैन,’खनालले भने, ‘कार्यान्वयन गर्दा मान्छे लिएर आउँछन्, त्यो मान्छेलाई नेपालले कुन देशको नागरिक हो रु तपाईं भनेर सोध्न पाउँदैन । ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन । यस्ता सर्त त्यसभित्र छन् ।’

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गरेका छन् । 



प्रतिक्रिया दिनुहोस !