१६ आश्विन २०८१, बुधबार

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छुः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  27 August, 2023 6:23 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताएका हुन् ।

आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे ।

ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकीलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको पनि बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले प्रदेशको कामकारवाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उपयोगी हुने विश्वास व्यक्त गरे । संघीयतामाथि प्रश्न उठाउनेहरूलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उनले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पु¥याएको बताए ।

‘यो हाम्रा प्रदेशहरूलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेला मौकामा केही मानिसहरूले प्रश्न उठाउने गर्छन् । त्यसको एउटा जवाफ जस्तो पनि लागेको छ मलाई आज ।’उनले भने, ‘यो भवनहरूको उद्घाटन गर्दैगर्दा, साँचो हस्तान्तरण गर्दैगर्दा, प्रदेश प्रमुख जी र मुख्यमन्त्रीजीहरूलाई मैले एक कदम भएपनि संघीयको संस्थागत गर्ने क्रममा चाहीँ यो हामी अगाडि बढेका छौ भन्ने मैले महशुस गरेको छु । अब यहाँ रहेर प्रदेश प्रमुखजीहरूले पनि र मुख्यमन्त्रीजीहरूले पनि आफ्नो जिम्मेवारी र कार्यभारालाई अझ प्रभावकारी ढंगले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले संघीय मन्त्रीहरूको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताए ।



प्रतिक्रिया दिनुहोस !