१६ आश्विन २०८१, बुधबार

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ:परराष्ट्रमन्त्री साउद

प्रकाशित मिति :  28 August, 2023 5:59 pm


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनर्जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधिमण्डल जाँदा अनौपचारिक रूपमा परराष्ट्रमन्त्रीस्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनर्जीवन दिने दाबी गरे । उनले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने निर्णय भइसकेको बताए ।

‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरू रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिध मण्डल जानु हुँदैछ । नेपालको तर्फबाट अनौपचारिक रूपमा भए पनि परराष्ट्रमन्त्रीहरूको एउटा बैठक हामीले बोलाएका छौँ । त्यस बैठकले सार्कलाई पुनर्जीवन दिनेछ, गतिशीलता दिनेछ । सार्क राष्ट्रहरूले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छौँ । यसले पनि सार्क जीवित रहन्छ । यो अघि बढ्छ,’ उनले भने ।

मन्त्री साउदले कुनै पनि राजनीतिक दलले परराष्ट्र नीति फरक-फरक गर्नु नहुने बताए । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !