१६ आश्विन २०८१, बुधबार

जनकपुरमा झुलनोत्सवको रौनक

प्रकाशित मिति :  29 August, 2023 8:20 am


काठमाडौँ । मिथिलाञ्चलको विशिष्ट पर्वहरुमध्ये एक हो झुलनोत्सव । अहिले मिथिलाञ्चलका मन्दिरहरुमा प्रत्येक साँझ झुलनोत्सवको रौनक सहजै देख्न सकिन्छ ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वी मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाइरहेका छन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्नेछ ।

झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको छ ।

एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको छ ।

मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा रहेको छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ ।

यद्यपि साधु सन्त तथा भक्तजनहरुले भगवान राम जानकीले मनाएको झुला रासको सम्झनामा आफ्नो सुखका लागि यो परम्परालाई बचाएर राखेको महन्थ शरण बताउछन्।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ । जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !