देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ :प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।
मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन् ।
प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण तस्करीको जालो तोड्ने काम अगाडि बढेको र यो नरोकिने बताए । उनले भने, ‘यो यहीँ रोकिने वाला छैन । भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कु प्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’
नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको पनि उनले बताए । उनले भने,’कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईंहरूले जनताको बिचमा लैजानुस्।’