१६ आश्विन २०८१, बुधबार

कोशीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्ने कुरा झुटो हो : लिङ्देन

प्रकाशित मिति :  29 August, 2023 11:26 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाएका छन् ।

साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । उनले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गरे ।

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने उनको भनाइ छ । राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र सुरूको गठबन्धनताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको पनि उनले बताए । राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीकै अफर आएको समेत उनको दाबी छ ।

उनले भने, ‘संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति भएको छैन । कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले तोकरै सभामुख र एउटा मन्त्री लिनेभयो भनेर राप्रपाले र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट हो ।’

अध्यक्ष लिङदेनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको बताए । उनले यो हुनुमा दिल्लीमा बनेको १२ बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासिनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !