१६ आश्विन २०८१, बुधबार

गंगामाया अधिकारीको उपचारमा सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको छ: प्रधानमन्त्री

प्रकाशित मिति :  29 August, 2023 12:22 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गोरखा फुजेलकी गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद एकनाथ ढकालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी सङ्क्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र सङ्क्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’, प्रधानमन्त्रीले भने, ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी सङ्घीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै सङ्क्रमणकालीन न्यायका मुद्दाहरू सम्बोधन हुने कुरामा सरकार विश्वस्त रहेको छ ।’

‘प्रचलित कानुनी व्यवस्थाको अधिनमा रही नेपाल सरकार तथा अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइ नै रहेका छन् । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको पनि जानकारी गराउन चाहन्छु ।’ उनले भने ।

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीनमा माओवादीका कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए । गंगामाया हाल वीर अस्पतालमा अनशनमा रहेकी छन् ।



प्रतिक्रिया दिनुहोस !