१६ आश्विन २०८१, बुधबार

सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्ति र कार्यलाई सरकारले छुट दिँदैन: प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 August, 2023 12:47 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताएका हुन् ।

उनले एकअर्काको धर्म र संस्कृतिबिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पारे । उनले परापूर्वक कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पारेका हुन् ।

‘बहुजातिय, बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदिऔँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनताहरू आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छन् । अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभुत चरित्रपनि हो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भइ साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ ।’उनले भने, ‘सामाजिक सद्भावमा खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्म बिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन । नेपालको संविधानको पूर्ण पालना गर्नु हामी सबैको साझा दायित्व हो । मैले पहिचानको कुरा गर्दा या कुनै कुरा गर्दा अरु कसैको पहिचान, आस्थामाथि कुनै खालको विभेद नगर्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु ।’

उनले सुुदूरपश्चिमको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतको विषयमा प्रक्रियामा रहेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !