१६ आश्विन २०८१, बुधबार

सरकारले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छः सांसद कार्की

प्रकाशित मिति :  29 August, 2023 1:05 pm


काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

डेंगु रोगबाट गृहजिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको पछिल्लो तथ्यांक प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रूपमा फैलिएको यो रोगबाट उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

उनले भने, ‘डेंगु रोगले कोभिडमा जसरी जनता आतंकित थिए । त्यसरी अहिले जनताहरू आतंकित भएको हुनाले यो रोगको समुचित प्रवन्ध गर्नका लागि र डेंगु रोगबाट जटिल अवस्थामा पुगेका बिरामीहरूलाई विशेष हस्पिटलको व्यवस्था गरेर उनीहरूको समुचित उपचारका निम्ती सम्बन्धित मन्त्रालयको म सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । औषधि अभाव र स्वास्थ्य सामग्रीको अभावबाट सुनसरीका जनताहरूले डेंगु रोगबाट प्रभावित भएर अहिले जसरी १२ जनाको मृत्यु भएको छ । त्यसरी मृत्यु हुने अवस्थामा नपु¥याउनका निम्ति म सम्माननीय सभामुखमार्फत फेरि पनि जोडदार आग्रह गर्न चाहन्छु ।’

सांसद कार्कीले डेंगु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !