१६ आश्विन २०८१, बुधबार

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 August, 2023 1:52 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरूबाट अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै सङ्क्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताए । त्यसै गरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रबन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री दाहालले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले १८५४।५ गिगावाट आवर विद्युत् १८ अर्ब ५४ करोड रुपैयाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत् निर्यात गरी १० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको पनि जानकारी दिए ।

प्रधानमन्त्री दाहालले गत वर्षको तुलनामा यस वर्ष विद्युत् निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत् उत्पादन बढ्दै जाँदा विद्युत्को निर्यात पनि बढ्दै जाने बताए ।



प्रतिक्रिया दिनुहोस !