१६ आश्विन २०८१, बुधबार

उपमहासचिव पुनले राज्य शक्तिहरू दुरुपयोग हुने खतराबारे सचेत गराए

प्रकाशित मिति :  29 August, 2023 3:02 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राज्य शक्ति दुरुपयोग हुने खतराबारे सरकारलाई सचेत गराएका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै राज्य शक्ति दुरुपयोगबारे भने सचेत गराएका हुन् ।

उनले भने,“ म के ध्यानाकर्षण गराउन चाहन्छु भने राज्य शक्तिको दुरुपयोग हुने खतराहरु ध्यान दिँदै कोहीप्रति प्रतिपक्ष होला, कोहीप्रति नियोजित रुपमा राज्य शक्ति परिचालित हुने, नियोजित रुपले त्यतातिर जाने, परिचालन हुने सम्भावनाहरु कहीँ पनि देखिनु हुँदैन । त्यस्तो भयो भने हाम्रो राज्य एउटा खुला राज्य हो । कुनै पनि बेला कोही पनि सत्तामा रहन्छ । ”

पुनले सरकारले चालेका सुशासनका कदमहरूमा साथ दिन सबै पक्षसँग आग्रह समेत गरे । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो ।

उनले भने,“सिटिङ प्रधानमन्त्रीले आफना दलका कोही नेतातिर अनुसन्धानको सुई गएपनि म त्यसको लागि त्यसको अनुसन्धान गर्न तयार छु, त्यसको आधारिक निकायलाई मैले निर्देशन दिएको छु भन्नु भएको छ । अहिलेसम्म कोही पनि बहालवाला प्रधानमन्त्रीले यस्तो घोषणा, यस्तो खालको चुनौति दिने उद्घोष गर्नुभएको छैन ।”

उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए ।

उनले भने,“समकालिन दुनियाँमा हाम्रो छिमेकहरूमा, धेरै ठाउँहरूमा राज्य शक्ति एक वा अर्कोको बिरुद्ध प्रयोग हुने र दुरुपयोग हुने खतरा देखिएका छन् । यस प्रकारका गलत अभ्यास र शिक्षाहरूबाट हामीले शासन व्यवस्थाहरू संचालन गर्नुपर्छ भन्ने मलाई लाग्दछ । त्यसका लागि नेपाल सरकारको ध्यान जानेनै छ भन्ने मेरो विश्वास छ ।”



प्रतिक्रिया दिनुहोस !