१६ आश्विन २०८१, बुधबार

प्रधानमन्त्रीलाई सांसद घर्तीको प्रश्न,‘रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरवको आयोजना खै ?’

प्रकाशित मिति :  29 August, 2023 3:52 pm


काठमाडौँ । रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेकी सांसद इश्वरी घर्तीले रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरवका योजना किन दिन नसकेको भन्दै प्रश्न गरेकी छन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समयमा आज सांसद घर्तीले रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे सशस्त्र द्वन्द्वको सुरुवात गरेको स्मरण गराउँदै प्रश्न गरिन्,“सम्माननीय प्रधानमन्त्रीज्यू तीन पटक प्रधानमन्त्री हुँदा पनि रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरबका योजना दिन सक्नुभएन । रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधामन्त्री भएपछि बिर्सनु भयो भन्ने रोल्पालीको गुनासो छ । त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?”

सांसद घर्तीले सहिद भएकाहरूको सम्झना र सम्मानका लागि दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोटसम्म पुग्ने सहिद मार्ग किन प्राथमिकतामा नपरेको भन्दै जिज्ञासा राखिन् ।

उनले भनिन्,“ सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा सहिद मार्ग नामाकरण गरेर योजना अगाडी बढाइएको थियो । बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन । ”

सहिद मार्गको मुख्य प्रवेश द्वारको रुपमा रहेको घोराहीदेखि रोल्पा होलेरीसम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिम पूर्ण भएको लामो समय बितिसकेको भन्दै सांसद घर्तीले भनिन्,“ यसबारे सदनमा मैले ३/४ पटक कुरा पनि राखिसकेँ तर सरकारले यो योजनालाई प्राथमिकतामा पारेन किन ? ”

रोल्पाको रुन्टीगढी गाउँपालिका भित्र रहेका चुनढुंगा खानीका लागि चल्ने टिप्परका लागि बैकल्पिक औद्योगिक मार्ग बनाउन र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई तत्काल कालोपत्रे गर्दै सहिद मार्ग योजना समयमै सम्पन्न गर्न म सरकारको के योजना छ ? भन्ने सांसद घर्तीको प्रश्न थियो ।



प्रतिक्रिया दिनुहोस !