१६ आश्विन २०८१, बुधबार

विस्फोट नभएका अमेरिकी हतियारले अझै लिँदैछ अफगानी नागरिको ज्यान

प्रकाशित मिति :  30 August, 2023 1:52 pm


काठमाडौँ । ५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (यूएक्सओ) को विस्फोटमा दुई छोराहरू गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन विस्फोटमा गम्भीर घाइते भए ।

उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर विस्फोटक पदार्थसँग खेलिरहेका थिए । सो क्रममा उनी विस्फोटमा परी घाइते भए । उनको पेटमा गहिरो चोट छ ।

अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए । तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ । रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए । अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो ।

रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्छन् । आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको बताए । अमेरिकीहरूले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उनी बताउँछन् ।

त्यस्तै डर छ, पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई । यूएक्सओका पीडित उनी बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताए । करिब पाँच वर्ष पहिला भएको बम विस्फोटमा आफ्नो हात गुमाउनु परेको उनले बताए । उनले अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाएका छैनन् ।

ब्राउन युनिभर्सिटीअन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि विस्फोट नगरिएका हतियारयुक्त छ । जसले दशौं हजार अफगानी बालबालिकाहरू, युवाहरू मारिएका र घाइते अवस्थामा छन् । रेड क्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र विस्फोटक पदार्थका अवशेषहरू समावेश भएका ५४१ घटनामा ६४० बालबालिको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !