७ आश्विन २०८१, सोमबार

बागमती प्रदेश दुग्ध विकास बोर्डद्वारा सरोकारवालासँग छलफल

प्रकाशित मिति :  30 August, 2023 5:22 pm


काठमाडौँ । बागमती प्रदेश दुग्ध विकास बोर्ड अन्तरगर्तको बागमती प्रदेशमा दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ ।

छलफल कार्यक्रममा बागमति प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, बोर्डकी नि. निर्देशक डा. सजिना ज्ञावली, नेपाल डेरी एसोसिएसन केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय सदस्य रमेश सञ्जेल, नेपाल डेरी एसोसिएसन बागमति प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्पी स्किन रोगका कारण लाखौं पशुहरू संक्रमित भएको र ५० हजार भन्दा बढीको मृत्यु भएको जानकारी गराएका थिए ।

रोगले किसानको ठूलो नोक्सान भएको र दुध उत्पादनमा समेत कमी भएको बताए । यसले तत्काल दुध अभावको समस्या नदेखियता पनि आउँदो सिजन फागुनबाट दुधको ठुलो अभाव हुने उनको भनाई थियो ।

केन्द्रीय दुग्ध उतपादक सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अहिले देशमा लम्पी स्किन रोगका कारण दुध कम हुनु पर्नेमा दुध बढि भएर मिल्क होलिडे हुने अवस्था आएको बताए ।

उनले भने,“यो भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिंदा यहाँ ठूलो समस्या आएकोले तत्काल सिमा नाकामा कडाई गरिनु पर्छ ।”

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गनुपर्नेमा जोड दिए । उनले अझ थप विकराल समस्या आउन सक्ने भन्दै सचेत गराए ।

बोर्डका नि. निर्देशक डा. सजिना ज्ञावलीले अहिले देखिएको समस्या हल गर्न नै आफूहरूले छलफल आयोजना गरेको बताइन् । बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले छलफलमा उठेका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने आश्वासन दिए ।

उनले भने,“अहिले किसानले उत्पादन गरेको दुध बिक्री हुन गाह्रो भएको र बिक्री हुँदा पनि उद्योगबाट समयमै भुक्तानी नपाएकाले तत्काल दुग्ध विकास संस्थान र निजी उद्योगहरुले समयमै किसानको भुक्तानी गर्न गर्नुपर्छ ।”

उनले किसान समस्यामा भएकाले भोलिका दिनमा थप समस्या नहोस् भनि बोर्ड लागिरहेको बताए । किसानका समस्या हल गर्न तत्काल सबै सरोकारवालाहरू लाग्नुपर्नेमा उपाध्यक्ष सापकोटाको जोड थियो ।



प्रतिक्रिया दिनुहोस !