१६ आश्विन २०८१, बुधबार

ग्याबोनमा सैन्य कू, निर्वाचित राष्ट्रपति नजरबन्दमा

प्रकाशित मिति :  31 August, 2023 2:50 pm


काठमाडौँ । अफ्रिकन देश ग्याबोनमा सेनाले ‘कू’ गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई नगुइमाले बुधबार राति एउटा विद्रोहपछि मध्य अफ्रिकी देशको नेतृत्व लिएका छन् ।

राष्ट्रिय निर्वाचन आयोगले मंगलबार राष्ट्रपति अलि बोंगोले तेस्रो कार्यकाल जितेको घोषणा गरेको थियो । तर, सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्ध भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो ।

ग्याबोनी सेनाका उच्च अधिकारीहरूले सर्वसम्मत भोटबाट नगुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सीटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए ।

राष्ट्रपति बोंगोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ । उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ ।

‘कु’ को समर्थन गर्दै हजारौँ मानिस सडकमा निस्केका छन् । बेंगो सन् २००९ मा राष्ट्रपति भएका थिए । त्यसयता उनी निरन्तर सत्तामा छन् । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

बोंगोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !