१६ आश्विन २०८१, बुधबार

भारतमा प्रति सिलिण्डर २ सयले घट्दा नेपालमा २३५ रूपैयाँ बढ्याे एलपीजी ग्यासको मूल्य

प्रकाशित मिति :  1 September, 2023 11:12 am


काठमाडाैँ । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । 

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपैयाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ । 

नेपाल आयल निगमले भने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !