१६ आश्विन २०८१, बुधबार

चुच्चे नक्सा सम्बन्धमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकोटा

प्रकाशित मिति :  1 September, 2023 4:46 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताएका हुन् । उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए । उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कुटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताएका छन् ।

उनले भने, ‘चीनले जारी गरेको नक्साकाे सम्बन्धमा त्यो के भयो ? किन त्यस्तो हुन गयो ? किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? यसको बारेमा त कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । मैले हिजो त्यो जारी भएको सुनेदेखि बुझ्दाखेरी पहिलाको सरकारले जानकारी दिएको थियो भन्ने छ । कुटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझावपनि छ । मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । र यसबारेमा प्रष्ट हुनुपर्छ । सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट गर्नुपर्छ र यो विषय त्यसरी पहलकदमी अगाडी बढाउनुपर्छ भन्ने लाग्छ ।’

त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !