१६ आश्विन २०८१, बुधबार

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छः सभामुख घिमिरे

प्रकाशित मिति :  1 September, 2023 5:10 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् ।

शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताएका हुन् ।

सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको बताएका छन् ।

महालक्ष्मी नगरपालिकाले काठमाडौँ उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ ।

अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकमा मेयर हरिगोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान अन्तर्गत आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताए । उनका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्कहरूलाई निर्माण गर्दै लैजानेछ ।



प्रतिक्रिया दिनुहोस !