१६ आश्विन २०८१, बुधबार

महिलाले उत्पादित सामग्रीको प्रवर्द्धन गर्न महिला उद्यमी मेला हुँदै

प्रकाशित मिति :  1 September, 2023 5:47 pm


काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ ।

शुक्रबार महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ २० देखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरूले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रूपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए । उनले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल बिस्तार गरी उद्यमशीलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवर्द्धनका निम्ति सहजीकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए ।

उनले मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामानहरू हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताए ।

महासचिव भुजेलले प्रदर्शनीमा ७० वटा स्टल राखिने बताए । उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।

त्यस्तै महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र महिला उद्यमीहरूको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन् । उनले सरकारले महिला उद्यमीहरूको विकास प्रवर्द्धन गर्न आवश्यक रहेको बताइन् । उनले मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरूले प्रत्येक प्रदेशमा एकरएक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गरिन् ।

सहअध्यक्ष पौडेलले सरकारले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताइन् । उनले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताइन् ।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरूबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरूले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरू बुक भइसकेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !