१७ आश्विन २०८१, बिहिबार

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुँदैन : कानुनमन्त्री गुरुङ

प्रकाशित मिति :  4 September, 2023 3:59 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरूबिचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ?भनेर प्रश्न गरेका थिए ।

मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।

सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।

मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !