१७ आश्विन २०८१, बिहिबार

निजामती कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल

प्रकाशित मिति :  8 September, 2023 12:01 pm


काठमाडौँ । सरकारका मुख्यसचिव डा।वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको पनि बताए ।

मुख्यसचिव अर्यालले मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सृजनशील र व्यावसायिक हुनुपर्ने खाँचो रहेको बताए ।

उनले संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति दिलाउनु निजामतीको प्रारम्भिक अभिभारा भएको बताए ।

मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताए ।



प्रतिक्रिया दिनुहोस !