४ आश्विन २०८१, शुक्रबार

जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति :  26 April, 2020 4:50 pm


काठमाण्डौं, १४ वैशाख ।

जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखिएको भन्दै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिएका हुन्।

दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै दल दर्ताको प्रक्रिया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले जानकारी दिए ।

बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ लाग्ने उनको तर्क छ । नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता पक्रिया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताए।

युवासंघ नेपालका सह संयोजक रमेश पौडेलले जातीय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्र्याउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रक्रिया रोक्न माग गरे।

बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।



प्रतिक्रिया दिनुहोस !