३ माघ २०८१, बिहिबार

कान्ति बाल अस्पतालबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि

प्रकाशित मिति :  16 September, 2023 3:24 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढङ्गले संसद्मा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुने गरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसद्मा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । महामन्त्री थापाले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिए ।

उनले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्था सम्बन्धी ऐन अनुसार सो दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए । नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरूलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर, कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने थापाको भनाइ छ ।

महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दिइरहने पनि दोहोर्याए ।



प्रतिक्रिया दिनुहोस !