१७ आश्विन २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन आगामी माघमा, नाम फेर्ने तयारी

प्रकाशित मिति :  19 September, 2023 3:23 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २३औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूर्ण बैठकको निर्णयबारे जानकारी गराउँदै राष्ट्रिय सम्मेलनको मिति सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने छ ।

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरू गठन गर्दै अखिल (क्रान्तिकारी)ले वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरुमा विधान तथा प्रतिवेदन लेखन, आर्थिक, व्यवस्थापन, संस्कृति तथा कला, अतिथि व्यवस्थापन, प्रचारप्रचार, विद्यार्थी परिचालन तथा संयमसेवक, स्वास्थ्य तथा आपतकालीन उद्धार रहेका छन् ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकले २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ । अन्य संगठनसँग नाम जुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरूले गरेको राम्रो कामको जस अन्य संगठनले लिएकाले नाम फेर्न लागिएको संगठनले जानकारी गराएको छ ।

२३औं राष्ट्रिय सम्मेलन केन्द्रित संगठन निर्माणका लागि सदस्यता वितरण, त्रिविका आंगिक र अन्य विश्वविद्यालयहरुका केन्द्रीय र महत्वपूर्ण क्याम्पसको इकाई सम्मेलन, विश्वविद्यालयका सम्मेलन र भौगोलिक जिल्लाका भेला सम्मेलनहरू तीब्र गतिमा सम्पन्न गर्ने निर्णयसमेत भएको छ ।

साथै, बैठकले हालै संसद्मा दर्ता भएको शिक्षा विधेयक २०८० ले शिक्षामा नवउद्धारवादी नीतिको पक्षपोषण गरेका अखिल (क्रान्तिकारी) ले निष्कर्ष निकालेको छ ।

उक्त विधेयकले शिक्षामा निजीकरण र व्यपारीकरणलाई वैधता दिएको अखिल (क्रान्तिकारी) को बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस !