१७ आश्विन २०८१, बिहिबार

दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  20 September, 2023 5:28 pm


काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

बुधवार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् । उनले पहिले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले शोषणको नयाँ–नयाँ रूपहरूलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताए । उनले संविधानले सबै प्रकारका अधिकारहरू दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको बताए । उनले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

अध्यक्ष नेपालले संविधानमा उल्लेख गरिएका कुराहरूलाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !