१७ आश्विन २०८१, बिहिबार

आरती साह मृत्यु प्रकरणका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौँ :सभापति साह

प्रकाशित मिति :  21 September, 2023 3:34 pm


काठमाडौँ । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व। आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरू गृह मन्त्रालय घेराउ गर्ने र संसद्को बेल घेराउ गर्न बाध्य हुने बताएका हुन् । उनले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताए ।

समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्यु प्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताए । उनले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताए । उनले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । उनले प्रहरीले ज्यादती गरेको ठहरिए ती प्रहरीहरूको निलम्बन गर्न सरकार पछि नहट्ने पनि बताए ।

सहसचिव भट्टराईले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गरे । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !