१८ आश्विन २०८१, शुक्रबार

आयरल्यान्ड भ्रमणबाट सभामुख घिमिरे स्वदेश फिर्ता

प्रकाशित मिति :  24 September, 2023 11:23 am


काठमाडौँ । सभामुख देवराज घिमिरे आज (आइतबार) आयरल्यान्डको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डि। हिगिन्ससँग शिष्टाचार भेट भएको बताए ।

उनले भेटमा आयरल्यान्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको बताए ।

भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताए ।

घिमिरेले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरूलाई आयरल्यान्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताए ।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्यप्रसाद पाण्डेय, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई थिए भने आयरल्यान्डमा नेपाली राजदूतावास, लण्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधिमण्डलमा सहभागी थिए । सभामुखको टोली भदौ ३१ गते आयरल्यान्ड प्रस्थान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !