१८ आश्विन २०८१, शुक्रबार

बैंकले कर्जा प्रवाह नगर्दा अर्थतन्त्र चलायमान भएन भन्न मिल्दैन :गभर्नर अधिकारी

प्रकाशित मिति :  24 September, 2023 2:15 pm


काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

बैंकहरूको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको उनले बताए । अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकको कर्जा प्रवाह बढ्ने गरेको भन्दै उनले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताए ।

‘नेपालको कर्जा प्रवाह जीडीपीभन्दा धेरै छ । अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ, बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो? ’ उनले प्रश्न गरे ।

राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कलाई नै बेलाबेलामा सैद्धान्तिक अभ्यासले चुनौती दिने गरेको उनले बताए । ‘यहाँ सिद्धान्तलाई चुनौती दिने अभ्यास भइरहेको हुन्छ । जुन वर्ष धेरै मनी सप्लाइ हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु छन्’ उनले भने ‘राष्ट्र बैंकको तथ्याङ्क र प्रणालीले कयौं ठाउँमा सिद्धान्तलाई च्यालेज गर्छ ।’

पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरू अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका लागि नीतिगत रुपमा कडाइका साथ उभिएको उनको भनाइ छ । मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका हुने भएकाले अर्थतन्त्र र मूल्यवृद्धिलाई स्थायित्व राख्नुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस !