१८ आश्विन २०८१, शुक्रबार

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  24 September, 2023 2:53 pm


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशङ्का व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुन् । श्रेष्ठले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे ।

उनले भने, “सीआईबीलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराइमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । म दृढतापूर्वक भन्न चाहन्छु, सीआईबी वा कुनैपनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन । बरु तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुग्न अगाडि बढाउ भनेर हामीले कडा निर्देशन दिएका छौँ ।”



प्रतिक्रिया दिनुहोस !